६८ करोडमा सुरु भएको आयोजना अहिले ११२ अर्बमा पुग्यो तर काम भएन : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रे उपत्यका खानेपानी आयोजना १० वर्षदेखि अलपत्र रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् । उनले ६ वटा सरकार फेरिँदा समेत काभ्रेमा एउटा खानेपानीको मुहान फर्काउन नसकेको बताए । त्यस्तै, उनले एक लाख ३० हजार जनतालाई खानेपानी व्यवस्थापन गर्नुपर्ने माग समेत गरे ।

“१२ वर्षमा खोलो फर्कन्छ भन्थे यो १२ वर्षमा ६ वटा जति सरकार फर्किए । काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको एउटा मूल सरकारले फर्काउन सकेन,” बास्कोटाले भने, “सन् २०१४ मा एडीभी र नेपाल सरकारको संयुक्त आयोजनामा ६८ करोडमा सुरु भएको अहिले ११२ अर्बमा पुग्यो तर काम भएन । ठेकेदारले काम गरेको छैन ।”