विश्वकप अर्जेन्टिना भर्सेस क्रोएशियाको पहिलो सेमिफाइनल खेल।

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदै छ। नेपाली समय अनुसार राति पौने १ बजे  क्रोएसिया र अर्जेन्टिनाबीच सेमिफाइनल खेल हुने छ। आजको विजेता फाइनल पुग्ने छ भने पराजित हुने टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छ। क्रोएसियाले यो वर्ष पनि उत्कृष्ट प्रदर्शन गरेको छ। क्रोएसियाले २०१८ को विश्वकपमा फ्रान्ससँग फाइनल खेलेको थियो।

अर्जेन्टिना भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको टिम हो। त्यसपछि खेलमा कमब्याक गर्न सफल पनि भयो।

अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। गत संस्करणको उप विजेता क्रोएसियाले भने पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सूटआउटमा पछि पार्दै प्रतियोगिताबाट आउट गरेको थियो।

हेड टु हेड

यी दुई टोली पछिल्लो पटक २०१८ विश्वकपको समूह चरणमा भिडेका थिए। जसमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो। यसबाहेक यी दुईबीच थप ४ खेल भएका छन्। दुई टोलीबीच पहिलो मैत्रीपूर्ण खेल सन् १९९४ मा भएको थियो। उक्त खेल बराबरीमा सकिएको थियो।

त्यसपछि सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले १–० ले जितेको थियो भने सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले ३–२ ले जितेको थियो। सन् २०१४ को मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।

क्रोएशियाको यात्रा

यस विश्वकपमा क्रोएसियाको यात्रा रोमाञ्चक रह्यो। समूह चरणमा एक खेल जितेको टोलीले २ खेल बराबरी खेलेको थियो। त्यसपछि मोड्रिचको टोलीले राउण्ड अफ १६ मा जापानसँग १–१ को बराबरी खेल्यो र त्यसपछि पेनाल्टी सुटआउटमा जित निकाल्यो। त्यसपछि क्वाटरफाइनलमा ब्राजिलसँग रोमाञ्चक बराबरी खेलेको क्रोएसियाले पेनाल्टी सुटआउटमा जित निकालेको थियो। क्रोएसियाले यस विश्वकपमा आफ्ना ५ खेलमध्ये ४ बराबरी खेलेको छ र रक्षात्मक खेल खेल्दै जित निकालेको छ।

अर्जेन्टिनाविरुद्ध क्रोएसियाले आफ्नो डिफेन्स बलियो राख्नुपर्नेछ। स्टार खेलाडी मेस्सीमा गोल गर्ने क्षमता उत्कृष्ट रहेकाले क्रोएशियाका गोल किपर लिभकोभिक व्यस्त हुने सम्भावना बढी छ। यदि अतिरिक्त समय हुँदै पेनाल्टीमा खेल पुगेमा पछिल्ला दुई वटा नकआउट गेम जस्तै गोलकिपर लिभकोभिकको भूमिका नै महत्वपूर्ण हुने छ।

अर्जेन्टिनाको डिफेन्स कमजोर 

यस विश्वकपमा अर्जेन्टिनाको यात्रा उतारचढावले भरिएको छ। पहिलो खेलमा साउदी अरेबियासँगको हारपछि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै सबै खेल जितेको थियो। राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएको थियो। यसपछि क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्धको खेलमा जित हात पारेपनि अन्तिम मिनेटमा गोल खाएको थियो। अर्जेन्टिनाले दबाबमा गोल नखाने प्रयास गर्नुपर्नेछ। यससँगै टोलीले क्रिएटिभिटीमा सुधार गर्दै आक्रमणमा ध्यान दिनुपर्ने छ। क्रोएसियाले खेललाई पेनाल्टीमा पु¥याए अर्जेन्टिनालाई जित्न गाह्रो हुनेछ।