स्थनिय निकायले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा लिच्छविकाल देखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ।
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकास्थित यस मन्दिरमा बर्सेनि फागुजात्रा सञ्चालन गर्न पञ्चायतकालदेखि राज्यले आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो। पालिकाले रकम उपलब्ध गराउन नमिल्ने भन्दै एक्कासि सञ्चालन खर्च रोक्का गर्ने निर्णय गरेको छ। पञ्चायतकालमा २० हजार रुपियाँ जात्रा खर्च उपलब्ध गराउने गरिएकोमा वृद्धि हुँदै गत वर्ष ९७ हजार रुपियाँ उपलब्ध गराइएको थियो।
मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइबासँग स्थानीयले सहयोग माग्न जाँदा कुनै ठाउँविशेषको जात्रा सञ्चालन गर्न आर्थिक सहयोग गर्न नसकिने जवाफ दिनु भएपछि उनीहरू निराश भएका छन्। यो जात्रा नगरपालिकाको वडा नं. ५ र ६ मा तीन दिनसम्म सञ्चालन हुने परम्परा छ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख वाइबाले भन्नुभयो, “जात्रा मनाउन सहयोग गर्ने नीति नगरपालिकासँग छैन। त्यसैले जात्रालाई सहयोग गर्न सकिँदैन।”
यो जात्रा फागुपुर्णिमा होलिका दहन भएदेखि प्राचीन कालदेखि सुरु भएको मानिँदै आएको छ। पालिकाले जात्रा खर्च उपलब्ध नगराएपछि स्थानीयले जात्रा नमासियोस् भनेर खुलेआम चन्दा उठाउन थालेका छन्। स्थानीय गोकुल ढकालले परम्परा धान्न र धर्म संस्कृतिलाई जोगाउन चन्दा उठाउनुबाहेक विकल्प नरहेको स्पष्ट गर्दै भन्नुभयो, “जात्रा सञ्चालन गर्न दुई लाख रुपियाँसम्म खर्च हुन्छ। चन्दा उठाउन थालिसकेका छौँ। नगरपालिकाले रकम नदिए पनि जात्रा सञ्चालन गरिछाड्छौँ।” विशेष गरी ब्रह्मायणीको मूर्तिलाई मन्दिरबाट गैरीबिसौनासम्म ल्याउने रथ, पञ्चेबाजा व्यवस्थापन, बोका र राँगाको बलिका लागि रकम आवश्यक पर्छ। ब्रह्मायणी मन्दिर संरक्षण समितिका संयोजक शेरबहादुर डोटेलले वडाले सिफारिस गरेर जात्रा मनाउन सहयोग मागे पनि स्थानीय तहले सहयोग नदिएकाले ऐतिहासिक जात्रालाई निरन्तरता दिन चन्दा उठाउनुको विकल्प नभएको बताउनुभयो।
काभ्रेपलान्चोक जिल्लाका पुरातत्त्व संरक्षण अभियन्ता श्रीकृष्ण धिमालले काभ्रेपलान्चोकमा लिच्छविकाल देखि देखि सञ्चालन हुँदै आएको जात्रालाई रोक्नकै लागि पालिकाले बजेट कटौती गरेको आरोप लगाउँदै राज्यले प्रोत्साहन गर्नुपर्नेमा उल्टै बजेट कटौती गरेको गुनासो गर्नुभयो।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार आफ्नो पालिका भित्र भएका प्राचीन सम्पदा , जात्रा परम्परालाई कानुन बनाएर सरक्षण गर्ने अधिकार कानुनले दिदादिदै अझै नगरपालिका कर्तव्यबोध गर्ने छाडेर, प्रचारप्रसार गर्ने छाडेर भाग्नु सविधानले सनातन धर्म सस्कृति परम्पराको रक्षा राज्यले गर्नु पर्छ भनेर लेखेको छ तर मेयरले कानुन विपरीत बजेट काट्ने र सरक्षक बन्नु पर्ने ठाउमा उल्टै भक्षक बनेको आरोप धिमालको छ पुर्व मध्यकाल वि स १४०६ मा
बङ्गालका सुल्तान समसुद्दीन शाहको आक्रमणमा परेर नेपालका धेरै मूर्तिहरु काटिएका ध्वस्त पारिएका थिए। सोही समयमा ब्रह्मायणीको मूर्ति पनि काटिएको हो धिमालले भने । पुरातत्व विभागले २०७२ सालमा मन्दिर उत्खनन गर्दा सो स्थानमा लिच्छिविकालीन इँटाहरु पनि फेला परेका थिए। सोही आधारमा उक्त मन्दिर लिच्छिविकालीन सुरुवातमै निर्माण भएको पुष्टि भएको थियो। भूकम्पका कारण क्षतिग्रस्त भएको मन्दिरको पुनर्निर्माण गरिएको छ।











