काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा तटस्थ बस्ने बताइएको छ । राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीका पक्षमा जम्मा ३० मत मात्र हुने भएको छ । अधिकारीले आजै विश्वासको मत लिँदैछन् ।
राप्रपा सचेतक विन्दु पहाडीले विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ निर्णय भएको पुष्टि गर्नुभयो । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।
कांग्रेस २७ सीट र राप्रपा २ सीटसहित प्रतिपक्षमा २९ सीट छ । गठबन्धनले ३० सीटलाई नै बहुमत मानेर विश्वासको मत घोषणा गर्ने तयारी गरेको छ । संविधानका जानकारहरूले ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट अनिवार्य हुने बताएका छन् । सर्वोच्चको आदेश नै संविधान विपरीत भएको उनीहरुको भनाइ छ ।











