काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतमले आ।व।२०८१/८२ को बजेटले आर्थिक पुनःसंरचना दिन नसक्ने बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद गौतमले बजेट उत्पादनमूलक क्षेत्रमा नभइ निश्चित कार्यकर्ता र राजनीतिक चतुर्याइँमा केन्द्रित रहेको बताएकी हुन् ।“यो सरकारको बजेट हेर्दा हामीले खोजेको आर्थिक समृद्धिभन्दा पनि सीमित व्यक्ति र राजनीतिक चतुर्याइँको लागि केन्द्रित भएको देखिन्छ,” उनले भनिन्, “कम्तीमा वित्तीय व्यवस्थापन खर्चभन्दा पुँजीगत खर्च रू एक मात्र बढी भएको भए बजेटले दिने सन्देश फरक हुन्थ्यो ।”
विकास र समृद्धिको खोजि गरिरहेको बेला त्यसको फरक बजेट प्रस्तुत हुँदा देश आर्थिक संकुचनतिर धकेलिने गौतमको भनाइ छ । निजी क्षेत्रको मनोबल बढाउने कस्तो कार्यक्रम लिएको छ भनेर पनि स्पष्ट नीति नभएको पनि उनको टिप्पणी छ । व्यवसायीलाई दोहोरो कर लगाउने र मनौवैज्ञानिक रूपमा आतंकित बनाउने काम भएको पनि उनले प्रष्ट पारिन् ।
“नेपालको संविधानमा भएको व्यवस्था अनुरूप समाजवादउन्मुख अर्थ व्यवस्थाअनुसार बजेट आउनुपर्ने हो । तर, सरकारको अभ्यास त्यसअनुसार नभएको भन्दै उनले भनिन्, “निजी क्षेत्रले आफ्नो मनोबल उच्च राख्न व्यावसायिक वातावरण सहज छ कि छैन त्यसमा भर पर्छ । झट्ट हेर्दा बजेट निजी क्षेत्र मैत्री देखिन्छ । सुक्ष्म तरिकाले नियाल्ने हो भने मलाई लाग्छ यो अवस्था छैन ।”
उत्पादन र उत्पादकत्वमा केन्द्रित भनेर बनाइएको आगामी वर्षको बजेटले कृषिमा केन्द्रित नगरेको पनि उनले बताइन् । बसाइँसराइले ग्रामीण क्षेत्रको बसोबास पातलिएकोप्रति बजेटले कुनै पनि ध्यान नदिएको उनको टिप्पणी छ । स्थानीय तहसँगको समन्वयमा ग्रामीण कृषि बिमाको आवश्यकता भए पनि त्यसमा बजेटले ध्यान नदिएकोप्रति चिन्ता व्यक्त गरिन् ।
देशको ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको स्मरण गराउँदै सांसद गौतमले यसतर्फ पनि बजेटको ध्यान नगएको बताइन् ।
नौ करोड क्यूविफिट काठको कटान उठानको क्रममा सरकारको कुनै लगानीविना नै कम्तीमा १० अर्ब बराबरको रोजगारी सृजना हुने पनि उनको भनाइ थियो । यसले बजेटमा उल्लेख दुई लाख मानिसलाई १०० दिनको रोजगारीका लागि विनियोजन गरिएको ६ अर्ब रुपैयाँ बजेटलाई बचत गराउने उनको भनाइ छ । वन व्यवस्थापन गरी पूराना र बुढा रुखहरू निकाल्दा बर्सेनि हुने डढेलो नियन्त्रण हुने उनको ठम्याई छ ।











