काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । उनले केही दिनअघि प्रधानमन्त्रीलाई संसद बैठकमा झुलुक्क देखेको र त्यसपछि नदेखिएको भन्दै व्यंगात्मक शैलीमा प्रधानमन्त्रीको खोजीका लागि सूचना प्रस्तुत गरेका हुन् ।

पन्तले सुनाए को सूचना यस्तो थियो:-
नागरिकताको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरिइ राख्ने। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले कोट प्यान्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ।
नेकपा एमालेका सांसद पन्तले प्रधानमन्त्री हराएको सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिवाद गरेका थिए ।प्रतिवाद गर्दै उनले भने ‘भर्खरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो । आज ३ बजे शपथग्रहण छ भन्ने सुनेको छु । सूचना गर्ने माननीय ज्यूलाई ३ बजे त्यहाँ उपस्थित हुन अनुरोध छ । दौरा सुरुवालमा जानुहोला ।’











