नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बोलाइएको छ ।
सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको छ ।बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।
केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेण्डा पनि रहेको छ । अरू एजेण्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएको छ ।
केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए ।











