प्राविधिक समस्या नआए एसइई को नतिजा शुक्रबार भित्र

काठमाडौं ।२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार भित्र सार्वजनिक गरिने बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

एसइई को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् ।ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

नेपाल टेलिकमको एसएमएस, आइभिआरमा १६०० मा डायल गरी नतिजा हेर्न सकिनेछ। एसइईको नतिजा पूरानै पद्धती अनुसार हुने भएको छ ।

यस वर्ष पनि गत वर्ष जसरी नै नतिजा प्रकाशन गर्न लागिएको बोर्डले जनाएको छ । लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नतिजा प्रकाशित हुन्छ । गत वर्ष पनि सोहीअनुसार नतिजा सार्वजनिक गरिएको थियो ।

यस वर्षको एसईईमा सहभागी विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच भएकाले २०७२ को निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्न लागिएको हो । लेटर ग्रेडिङ २०७२ को निर्देशिकाअनुसार कुनै पनि विद्यार्थीले ननग्रेड प्राप्त गर्ने छैनन् ।