कोइराला समूहको असहमतिले सरकार अझै पूर्ण भएन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले कांग्रेसका ४ जनालाई मन्त्री नियुक्त गरेका छन् ।कांग्रेसको शेखर कोइराला समूहले मन्त्री बन्ने सांसदको नाम नबुझाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट ४ जनालाई मात्र नियुक्त गरेका छन् । 

शुक्रबार बिहान बसेको कोइराला समूहको बैठकले सरकारमा सम्मानजनक सहभागिता नपाए सहभागी नहुने निर्णय गरेको थियो । कांग्रेसको भागमा परेका ८ मध्ये कम्तीमा ३ मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने उसको अडान छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा गएको कांग्रेसबाट पार्टी प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री भएका छन् ।उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् भने यसघि भौतिक पूर्वाधारमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाइएको छ ।सञ्चारमन्त्री रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सूदन किराँती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदी यथावत् नै रहेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् भने नेकपा एसबाट उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास तथा उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका छन् ।

यता, १/१ मन्त्रालय पाएका लोसपाका शरत्सिंह भण्डारी श्रम तथा रोजगारमन्त्री, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेका छन् ।