काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ बर्ष देखि लागू हुने गरी निक्षेपको ब्याजदर एकल अंकमा घटाउने भएका छन् । । बुधबार बिहान बसेको बैंकर्स संघको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ ।
अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्ने छ । यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ ।
राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।











