प्रविधिमा अग्राधिकारको लागि चिन र अमेरिकाको प्रतिस्पर्धा नया चरणमा

संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमी देशहरू प्रविधिहरूको विकासमा चीनसँगको प्रतिस्पर्धामा पछि पर्न थालेका छन्। प्राविधिक तथा बैज्ञानिक प्रतिभाहरुलाइ देशभित्रै कायम राख्न सफल भएसंगै  बेइजिङले सम्भावित रूपमा केही क्षेत्रमा एकाधिकार स्थापना गरेको छ।

अष्ट्रेलियाली रणनीतिक नीति संस्थानले संचालन गरेको एक वर्ष लामो परियोजनामा अध्ययन गरिएका ४४ मध्ये ३७ प्रविधिमा चीनको नेतृत्व रहेको छ जसमा विद्युतीय ब्याट्रीहरू, ध्वनी भन्दा तीव्र गतिमा प्रहार गर्न सकिने क्षेप्यास्त्रहरु तथा फाइभ जी र सिक्स जी जस्ता उन्नत रेडियो-फ्रिक्वेन्सीमा आधारित सञ्चार प्रविधिहरु समावेश छन्। अध्ययनमा समावेश गरिएका ४४ वटा प्रविधिमध्ये चीनको विज्ञान प्रज्ञा-प्रतिष्ठान (Chinese Academy of Sciences) पहिलो वा दोस्रो स्थानमा रहेको रिपोर्टमा जनाइएको छ।

कम्प्युटर, मोबाइल फोन, र अन्य सबै प्रकारका विद्युतीय उपकरणमा प्रयोग हुने प्रमुख भाग ‘चिप’ को उत्पादनमा एकाधिकार कायम गर्न चिन र अमेरिका बीच तीव्र प्रतिस्पर्धा छ। अमेरिकाको चिप उत्पादन उद्योग विदेशी प्रविधिमा धेरै निर्भर छ। ताइवानको टि.एस.एम.सी., दक्षिण कोरियाको सामसंग र नेदरल्यान्ड्सको ए.एस.एम.एल. जस्ता प्रमुख उद्योगहरू बिना अमेरिकाका प्रमुख कम्पनीहरूसँग चिपहरू आफैं उत्पादन गर्ने क्षमता नभएको कारणले भविष्यमा चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ।

पछिल्लो समयमा चीनका शीर्ष चिप उपकरण निर्माताहरूको राजस्वमा निरन्तर वृद्धि भैरहेको छ। बेइजिङले आफ्नो चिप उद्योगको लागि आत्मनिर्भरताको लक्ष्य जारी राखेको छ।