काठमाडौं–सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भएको छलफलमा चाँडै संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।
सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्ने नसकेपछि सभामुख घिमिरे दलहरुलाई घच्घच्याउन बैठक बोलाएका थिए ।
‘सभापति चयनबारे प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ मैले सकेसम्म समझदारी होस् नभए अब प्रक्रिया अघि बढ्छ भनेको छु,’ बैठकपछि सभामुख घिमिरेले भने ।
कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर चाँडै प्रक्रियाअघि बढाउने सहमति भएको जानकारी दिए । उनले सबै दलहरु संसद्मा मिलेको सन्देश दिन सभापति चयनमा विगतको सहमतिलाई कार्यान्वयन गर्ने जोड दिने बताए । ‘पुरानो सहमतिअनुसार अघि बढ्न हामी तयार छौैं,’ मन्त्री गुरुङले भने ।
उनले लामो समयदेखि रिक्त रहेको सभापति पदपूर्ति गरेर अगाडि बढ्ने सहमति भएको छ । यस अगाडिको सहमति अनुसार नै दलहरुले समितिमा सभापति पाउनेछन् ।
संसदीय समितिका सभापति चयनमा देखिएको गाँठो फुकाउन सभामुख घिमिरेले पहल थालेका हुन्। वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन् ।











