दुई तर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा आएको छ । शनिबार राति ११ बजे खसेको पहिरो आइतबार साँझ ६ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए ।

चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलाको पुलमा पहिरो खसेको थियो । बिहीबारदेखि उक्त स्थानमा पटक पटक पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ ।

पहिरोका कारण यात्रुले सास्ती पाएका थिए । बाटो खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका छन् । लामो समय जाम भएको कारण सवारी पास हुन समय लाग्ने बताइएको छ ।

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।

सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।