त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल आज ,नेपाल र लाओस भिड्दै

राजधानीमा जारी त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलका लागि घरेलु टोली नेपाल र लाओस आमने सामने हुने छन् ।

यो प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागि थिए । जसमा नेपालले लओसलाई पराजित गर्दा भुटानसँग बराबरी खेल्दै फाइनल पुगेको हो ।

लाओसले भने भुटानमाथि जित दर्ता गर्दै नेपालसँग भेट पक्का भएको थियो ।

नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ ।

अधिकांश सिनियर खेलाडीले टिम छाडेर विदेश पलायन भएपछि हुन लागेको खेलको उपाधि जितेमा खेलाडीको मनोबल बढ्ने नेपाली टिमका कप्तान किरण चेम्जोङले बताएका छन् ।

आजको फाइनलका लागि नेपाली खेलाडीहरु मानसिक र शारिरीकरुपमा तयार रहेको पनि कप्तान चेम्जोङले बताएका छन् ।  

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांस नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताएका छन् ।

 टोली मानसिक र शारीरिक हिसवमा तयार रहेको भन्दै नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने पनि उनको भनाई छ ।

धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनिसले भुटानबिरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुने समेत जानकारी दिएका छन् ।

अञ्जन भुटानविरुद्धको खेलमा घाइते भएपछि मैदान छाडेका थिए । 

यस्तै, भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालबिरुद्ध संघर्ष गरेपनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

घरेलु टोलीबिरुद्ध हुने खेल निकै प्रतिष्पर्धातमक हुने विश्वास राख्दै अहिलेको टोलीमा धेरैजसो खेलाडीले यु–१९ उमेर समूहको भएको र उनीहरुले राम्रो खेल्दै घर फर्किने बताए ।

यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिष्पर्धाका लागि टोली उत्साहित भएको बताए ।

पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाईपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताए ।

दुवै टोली उपाधिका लागि प्रतिष्पर्धा गर्दा खेल रोमाञ्चक हुने बताए ।