एसबिआई बैंकका अध्यक्ष कुंचाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडका संचालक समितिका अध्यक्ष वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले शुक्रबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा अध्यक्ष कुंचालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। नेपाल एसबिआई बैंकको संचालक समितिको कात्तिक १४ गते बसेको ५३६औं बैठकले स्टेट बैंक अफ इण्डियाको प्रतिनिधित्व गर्दै आएका कुंचालाई सर्वसम्मतिपूर्वक अध्यक्षमा चयन गरेको थियो।

कुंचा हाल भारतको मुम्बईस्थित स्टेट बैंक अफ इण्डिया (एसबीआई) को प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहका मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन्। उहाँले एसबीआईका २९ देशमा फैलिएका अन्तर्राष्ट्रिय व्यवसाय र सम्बन्धित व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्।

सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कार्यकारी निर्देशक (का.मु.) राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारी उपस्थित थिए।

त्यसैगरी नेपाल एसबिआई बैंकका संचालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपालप्रसाद भट्ट, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, तथा कम्पनी सचिव खगेश्वर भट्टलगायत वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।