सन्दीप लामिछानेले पुनरावेदनको निवेदन दिने ।

किशोरी माथि जबरजस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिने भएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इज्लासले थुनछेक आदेशमा पुर्पक्षका लागि कारागार चलान गरेपछि उनले पुनरावेदन गर्ने तयारी गरेका हुन् ।
जिल्लाको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा चलान भएका सन्दीपले आइतवारबाट पुनरावेदन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । आइतवार जिल्लाबाट जारी आदेशको पूर्णपाठ बुझेपछि पुनरावेदनमा जाने तयारी भएको सन्दीपका कानून व्यवसायीको भनाइ रहेको छ ।
गत मंगलबारदेखि जारी निरन्तर सुनुवाइको क्रममा शुक्रबार पीडितको पक्षबाट जवाफी बहस सकिएसँगै जिल्ला न्यायाधीश घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेका र बलत्कार नभएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल आरोपी सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।