काठमाडौं । नेपाल टेलिकमले मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन वित्तीय संस्थाहरूलाई अनुरोध गरेको छ। ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिम कार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिन टेलिकमले अनुरोध गरेको हो।
टेलिकमले सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिम कार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न पनि अनुरोध गरेको छ।
प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैङ्किङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम रहने तर्फ टेलिकमले सचेत गराएको छ।
प्रयोगकर्ताको मोबाइल बैङ्किङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमले उल्लेख गरेको छ।
मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबार लगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकोमा समय क्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ।











