कतारमा जारी फिफा विश्वकप २०२२ अन्र्तगत आज दोस्रो सेमिफाइनल खेल हुँदै छ। नेपाली समय अनुसार राति पौने १ बजे हुने खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने छ। आजको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्ने छ। अर्जेन्टिनाले गत संस्करणको फाइनल खेलेको क्रोएशियालाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।
यस विश्वकपमा मोरक्कोले एक मात्र गोल खाएको छ। त्यो पनि मोरक्कन खेलाडीको गल्तीले। मोरक्कोले क्यानडाविरुद्ध गोल खाएको थियो।
डिफेन्डिङ च्याम्पियन फ्रान्सले एउटा पनि नकआउट खेललाई पेनाल्टी सुटआउटमा लगेन। जारी विश्वकपमा उत्कृष्ट फर्ममा रहेको डिफेन्डिङ च्याम्पियन फ्रान्सले सबै खेलमा गोल गर्दै जित निकालेको छ। फ्रान्ससँग लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने मौका छ। उता मोरक्को पनि फाइनल खेल्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने होडमा रहेको छ।
फ्रान्स र मोरक्को ११ पटक आमनेसामने भएका छन्। फ्रान्सले ७ खेलमा जित हात पारेको छ भने मोरक्कोले १ खेल जितेको छ। बाँकी ३ खेल बराबरीमा सकिएका छन्। यी दुई टोली प्रायः साना प्रतियोगितामा भिड्दै आएका छन्। अब विश्वकपमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन्।
मोरक्कोको डिफेन्स बलियो देखिएको छ। टोलीले अहिलेसम्म पूरै विश्वकपमा विपक्षी खेलाडीबाट एक गोल पनि खाएको छैन। क्यानडाविरुद्धको एकमात्र गोल मोरक्कोका खेलाडीले गल्तीले गरेका थिए। टोलीका गोलकिपर बोनो यो वर्ष उत्कृष्ट लयमा छन्। उनी स्पेनिस शीर्ष लिगमा सेभिल्लाका लागि गोलकिपिङ गर्छन्।टोलीमा हाकिम जीएच र अशरफ हाकिमी जस्ता खेलाडीहरू छन् जसले युरोपमा क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
विश्वकपको एक दावेदार मानिने फ्रान्सेली टोली बलियो छ। तर, अहिलेसम्म फ्रान्सले १ खेलमा पनि क्लिनसिट लिन सकेको छैन। टोलीले प्रत्येक खेलमा कम्तिमा १ गोल खाएको छ। तर, समूह डीको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४–१ ले हराएको थियो। जहाँ दोस्रो खेलमा डेनमार्क २–१ ले पराजित भएको थियो। छनोटपछि टोलीले ट्युनिसियाविरुद्धको समूह चरणको खेलका लागि प्रमुख खेलाडीहरूलाई विश्राम दिएको थियो। त्यसको मार उसले बेहोर्नुपर्यो र टोली १–० ले पराजित भयो। राउन्ड अफ १६ मा फ्रान्सले पोल्याण्डलाई ३–१ ले हराएको थियो।
क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध २–१ को जित निकालेको थियो। तर, त्यो खेलमा डिफेन्समा कमजोरी देखिएको थियो। पेनाल्टी बक्समा फ्रान्सेली डिफेन्डरले अनावश्यक रूपमा दुई पटक फउल गरेपछि इंग्ल्याण्डलाई पेनाल्टी दिइएको थियो। तर, फ्रान्सको भाग्यले इंग्ल्याण्डले पेनाल्टी मिस गर्यो।
टोलीका स्टार स्ट्राइकर केलियन एमबाप्पेले प्रतियोगितामा ५ गोल गरेका छन्। योसँगै ओलिभर जिउडको ४ गोल छ। फ्रान्सले आक्रमणमा एम्बाप्पे र हेडर गोल गर्ने क्षमता जिरुडसँग छ। साथै, असिस्ट र राम्रो पासहरू सिर्जना गर्ने एन्टोइन ग्रिजम्यान पनि छन्। स्ट्राइकर ग्रिजम्यान हाल टोलीमा आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्दै स्ट्राइकरहरूलाई बल उपलव्ध गराउँदै आएका छन्। उनी पनि फ्रान्सेली टोलीका मुख्य हतियार हुन्।











