राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने:नेपाली काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो ।उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए ।

उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा काँग्रेस रहेको बताए । प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको बताए ।

लेखकले नेपाली काँग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए ।