नेपाललाई युएईको १८२ रनको लक्ष्य  

आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालसंग खेलिरहेको युएईले १८२ रनको लक्ष्य दिएको छ ।  

हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा  टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा  १८१ रनमा अलआउट भयो ।  जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए ।

 नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए ।  नेपालले आज तीन परिवर्तन गरेको छ ।   अर्जुन साउँद, ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीलाई खेलाएको छ ।  आसिफ शेख,कुशल मल्ल र ललित नारायणवंसीलाई बेञ्चमा राखिएको छ ।  

सुपर सिक्सबाट बाहिरिसकेका नेपाल र युएईबीचको खेल सातौं स्थानको लागि सेमिफाइनलको रुपमा रहेको छ । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग खेल्ने लक्ष्यमा छ  ।