रामेछाप । पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।
भोलि घर घरमा घटस्थापना गरी जमरा राखिँदै छ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ।
सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ ।
खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो । जमरा राख्ने कार्यक्रममा विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ लगायत कोषका पदाधिकारीहरू, पुजारीहरू तथा मन्दिरका गुठियारहरूको सहभागिता थियो ।
जमरा राखेसँगै खाँडादेवी मन्दिरमा दशैँ विशेष बलि र पञ्चवली खुलेको छ । अब मन्दिरमा पञ्चवली र बलि लिएर आउने मानिसहरूको भिड लाग्ने गर्दछ ।
खाँडादेवीलाई ऐतिहासिक शक्तिपीठ मानिन्छ । यसको वर्ष देवीभागवत महापुराणमा समेत गरिएको छ । त्यस्तै शिवपुराणको हिमवतखण्डमा पनि यो मन्दिरको चर्चा छ।
यस मन्दिरमा किँरातकालदेखि नै पूजाआजा गर्दै आएको विश्वास गरिन्छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली ठानी विशेष पूजा गर्ने गर्दछन् ।
विसं १५७३ मा मन्दिरमा चढाइएको ठुलो घण्ट अहिले पनि मन्दिरमा सुरक्षित छ । त्यसअघि चढाइएका चाँदीका जन्तरलगायत गहना अहिले पनि सुरक्षित अवस्थामा छन् । दरबारबाट चढाइएका ती धरोहरहरूले खाँडादेवी मन्दिरको ऐतिहासिकता प्रमाणित गर्दछ ।
जनश्रुति अनुसार, नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढी बनाएका थिए। युद्ध जित्न खाँडादेवीको आशीर्वाद लिएको र युद्धपश्चात् खाँडादेवीको शिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बाटोमै हराएर पुनः मन्दिरमै फर्किने गरेको जनश्रुति रहँदै आएको छ । त्यसपछि पृथ्वीनारायण शाहले खाँडादेवीसहितका देवीदेवताहरूलाई बलि दिने परम्परा सुरु गराएको विश्वास गरिन्छ ।
उनकै आदेशअनुसार खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई हाँस र कुखुराको पोथी बलि दिने परम्परा आजसम्म चलनमा छ । पहिला यो पूजाको खर्च दरबारबाटै आउने गथ्र्यो भने अहिले खाँडादेवी विकास कोषले त्यसलाई निरन्तरता दिँदै आएको छ ।
कोषले हरेक वर्ष बडादशैँ र चैते दशैँको नवमीका दिन सो सरकारी पूजा गर्दै आएको छ । साथै, खाँडादेवी मन्दिरको संरक्षण, पूजा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य पनि कोषमार्फत हुने गर्दछ ।











