निजामती कर्मचारी अस्पतालका कर्मचारीहरु आन्दोलित ।

काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा सहितका माग राखेर आन्दोलन सुरु गरेकाछन् ।

अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको थियो ।
असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् ।

अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । बर्षौदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनिहरुले आन्दोलन समेत घोषणा गरेका छन् । भोलि देखि १५ मिनेट धर्ना दिने कार्यक्रम राखेका छन!

निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेडयूनियको अगुवाइमा आन्दोलन गरेका हुन् । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने तर अस्पतालको नियमित सेवा भने खुला नै रहेको आधिकारिक ट्रेडयुनिका सचिव विनोद पोखरेलले जानकारी दिएका छन ।डाक्टर्स एसोसियसनका महासचिब डा दिपेश केसीले पनि पोखरेलको भनाईलाई सहमति जनाएका छन ।

उनिहरुले आज बिरोध स्वरुप कालो ब्यानरमा आफ्ना मागहरु लेखेर अस्पतालमा टाँसेका छन् । ब्यानरमा कार्यकारी निर्देशकको राजीनामा सहितका ६ वटा माग लेखिएको छ । जसमा

१)असक्षम कार्यकारी निर्देशक राजिनामा गर,
२)पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर,

३)अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर

४) विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न,

५)रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न

६) दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्न समेत उनिहरुले ब्यवस्थापन पक्षसंग माग गरेका छन् ।