इन्धनको मूल्यमा आजदेखि स्वचालित प्रणाली लागु हुने

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रूपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

नयाँ मूल्य सूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रति लिटर ९ रूपैयाँ तथा डिजेलमा साढे ६ रूपैयाँ निगमलाई नाफा छ । समग्रमा निगम पेट्रोलियम पदार्थमा पाक्षिक रुपमै करिब १ अर्ब नाफामा छ ।

आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने निगमले जनाएको छ । आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने भएको हो । पूर्ण स्वचालित मूल्य प्रणाली लागु गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरी मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरी मूल्य बढाउने व्यवस्था हुन्छ ।

यसमा निगमले आफ्नो ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले ३ प्रतिशत नाफा राख्ने बताइएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागु गर्न लागिएको हो ।