संविधान दिवसमा विभूषण र मानपदवी वितरण नहुने

शुक्रबारकाे मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसरमा विभूषण र मानपदवी वितरण नहुने निर्णय गरेको छ।उक्त बैठकले विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक हुने आमअनुमानविपरीत यसपालि त्यसलाई स्थगित गरेको छ।

मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ- “संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने ।”

हरेक पटकको विभूषण वितरणमा व्यापक आलोचना हुने गरेको परिस्थितिलाई नीति, मापदण्ड र प्रक्रियागत रूपमै आलोचनारहित बनाउन सरकारले त्यससम्बन्धी सुझाव कार्यदल बनाउने भएको छ।