मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं ।सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ ।

सरकारले गठन गरेको समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामाला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

समितिले पीडितहरूसँग वार्ता गरेपछि प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल यात्रापछि मिटरब्याज पीडितहरू आइतबार बिहान काठमाडौं आइपुगेका थिए । उनीहरुले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएको थियो ।