निर्वाचन प्रचार–प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी–१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरूप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु भएपछि यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो ।
निर्वाचन क्षेत्रका बस्ती बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर सुनिन थालेका छन् । दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती बस्तीमा कोणसभाका कार्यक्रम अघि बढाएका छन् ।
महोत्तरी–१ को भङ्गाहा–९ कञ्चनवनबाट नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले चुनावी प्रचार र घरदैलो कार्यक्रमको आज बिहान शुभारम्भ गर्नुभयो । त्यसैगरी पाँचदलीय सत्तागठबन्धनको वाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटीले कात्तिक १७ गतेदेखि मङ्सिर–१ गतेसम्मको तालिका नै बनाएर निर्वाचन प्रचार अभियान थालिएको जनाएको छ ।
पाँच दलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभाका उम्मेदवार रहेका छन् । त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः लोसपाका पिताम्बर महतो र माओवादी केन्द्रका भरतप्रसाद साह सत्तागठबन्धनका उम्मेदवार रहेका छन् ।
महोत्तरी–१ मा प्रतिनिधिसभाका १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये सातजना स्वतन्त्र छन् । त्यसैगरी यसै क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ मा १० स्वतन्त्रसहित जम्मा १८ जना र प्रदेशसभा क्षेत्र ‘ख’ मा १७ स्वतन्त्रसहित २२ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबासले जनाएको छ ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसहितका दलीय उम्मेदवार छन् । यद्यपि निर्वाचनमा पाँचदलीय सत्तागठबन्धन, एमाले/जसपा गठबन्धन र प्रह्लाद स्वतन्त्र समूहबीच मुख्य प्रतिस्पर्धा हुने गौशाला–४ रजखोरका ६५ वर्षीय चन्देश्वर साहको अड्कल छ ।
निर्वाचनमा दलबाहेकका स्वतन्त्र उम्मेदवार निर्वाचन परिणाम आफ्नो पक्षमा हुने बताउन भने चुक्दैनन् । यसपालि महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार चार सय ९७ मतदाता कायम छन् । महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रभित्र ५९ मतदानस्थल र एक सय २३ मतदान केन्द्र रहेका सहायक निर्वाचन अधिकृत सन्देश अधिकारीले जानकारी दिए ।











