हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले जिल्लालाई थप सुरक्षात्मक बनाउँदै हरेक किसिमका अपराधजन्य गतिविधि नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका छन् ।
आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिडिओ अधिकारीले पछिल्लो समय मकवानपुरमा बढ्दै गएको लागू औषध कारोबार, यौनधन्दा, ठगी र अवैध कार्यहरूलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकायहरू सक्रिय रूपमा खटिने जानकारी दिए।
उनले भने, ‘अब मकवानपुरमा कुनै पनि गैरकानुनी कार्यलाई सहन गरिँदैन। लागूऔषध नियन्त्रणदेखि यौनधन्दा नियन्त्रणसम्मका अभियानलाई कडाइका साथ अघि बाइनेछ ।’
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सिडिओ अधिकारीलाई जिल्लाका स्थानीय तहमा देखिएका समस्या र विशेष अवस्थाबारे जानकारी गराएका थिए।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी (एपीएफ), अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका प्रमुख अधिकृत र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।











