भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको छ । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि नेकपा तिरै फर्कने भनेका छौं । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौं ।’ देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उहाँले आफूहरुको संकल्प रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखनुभयो ‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए । र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४० /५० वर्ष ,कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’











