तीन दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक, संसदमा आशंका

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मिलित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा भएको छलफलको विषय सार्वजनिक भइसकेको छैन ।

यहि बैठकलाई जोडेर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् ।

नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्ताप्रति दोषी जोगाउन हो कि भनेर आशंका व्यक्त गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणबारे भएको छानबिन ट्रेलर मात्र भएको अभिव्यक्ति दिएका थिए । सोही प्रसंग जोडेर सांसद सुवालले प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता भ्रष्टाचारी र ठगलाई कारबाही गरेको फिल्म देखाउनका लागि हो भनेर प्रश्न गरे ।

यो प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु खाँण लगायतको नामसमेत मुछिएपछि राजनीति तरंगित भएको छ । उक्त प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका छन् । रायमाझीका छोरा पक्राउ परी अनुसन्धान भइरहेको छ ।