कांग्रेसले भोलि बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोली मंगलबार बिहानसम्म सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दिने निर्णय कुर्ने भएको छ ।

प्रधानमन्त्रीबाट संसदीय समिति गठन गर्ने आश्वासन आएको भन्दै कांग्रेसले भोलि बिहानसम्म पर्खने निर्णय गरेको हो । आज बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री आफ्नो माग का सम्बन्धमा सकारात्मक देखिएकाले भोलि बिहान बस्ने संसदीय दलको बैठकबाट थप निर्णय लिने भन्दै बैठक सकिएको एक नेताले जानकारी दिए ।

उनले भने, ‘छानबिन समिति बनाउन प्रधानमन्त्रीलाई खासै आपत्ति छैन । एमालेको पोजिसन छानबिन समिति बन्नै नदिने छ । तर, पनि प्रधानमन्त्री भने अनुसार हामीलाई विश्वास भएर नै आजको संसदीय दलको बैठक सारिएको हो ।’ यसपछि सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठक मंगलबार बिहानका लागि सारिएको छ ।

बैठकमा सोमबार साँझसम्म छानविन समिति बनाउने गरी प्रधानमन्त्रीले पहल लिने अपेक्षा सहितको छलफल भएको थियो । ‘प्रधानमन्त्रीले आज साँझसम्म कांग्रेसलाई बोलाएर छानविन समितिका बारेमा समझदारी गराउने जानकारी दिएका छन् ।

कांग्रेस बैठकमा सत्तारुढ दलमा एमाले बाहेक अन्य दल छानबिन समितिको चर्को विरोधी नरहेको विषय उठेको थियो । संसदीय छानबिन समितिको पूर्व अडानबाट पछि नहट्ने कांग्रेसको निर्णय भने कायमै रहेको छ ।