नेकपा एमाले सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको बताएको छ । आज बसेको सचिवालय बैठकले यो समीकरणमा सहभागी हुन अरु दललाई अपील पनि गरेको छ ।
पार्टीको सचिवालय बैठकले सत्ता समीकरण उचित समयमा परिवर्तन भएको र यसले देशका समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ । यो परिवर्तनले जनतामा उत्साह जगाउने कुरामा सकारात्मक योगदान दिने एमालेको निचोड छ ।
मुलुकमा एक प्रकारको संकटको अवस्था सिर्जना भएको र त्यसलाई सकारात्मक दिशामा अघि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले एमालेका तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा यो गठबन्धन बनेको एमालेको भनाइ छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने बताए । जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउन यसले अनुकूलता सिर्जना गरेको पोखरेलले बताए ।











