माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै समुह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालको जितमा समिर तामाङले दुई तथा निराजन धामी र प्रसान्त लक्षमले एक एक गोल गर्दा अदाम लायान रशिदले माल्दिभ्सका लागि सान्त्वना गोल गरे । खेलको १८ औं मिनेटमा नेपालका प्रसान्त लक्षमले डिबक्स बाहिरबाट उत्कृष्ट भलि गोल गर्दै घरेलु टोली नेपाललाई अग्रता दिलाए । त्यसपछि खेलको ३० औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा दुवै टोली दश खेलाडीमा सिमित भए । नेपालका सुजन ढङगोल र माल्दिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि दवाब दिँदै गोलका अवसरहरु सृजना गरेको थियो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्दा माल्दिभ्सले एक गोल फर्काएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै नेपाली खेलाडी समिर तामाङले वान भर्से वानमा गोल गर्न चुके ।

खेलको ५८ औं मिनेटमा माल्दिभ्सले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । माल्दिभ्सका लागि अदाम लायान रशिदले गोल गरेका थिए । निराजन धामीले ८८ औं मिनेटमा गोल गर्दै नेपाललाई माल्दिभ्सविरुद्ध पुन दुई गोलको अग्रता दिलाए । नेपाल यतिमै रोकिएन । खेलको अतिरिक्त समयको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गर्दै नेपालको सेमिफाइनलमा स्थान पक्का गरे ।