काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् ।
भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताए ।
‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थामा छन्,’ज्ञवाली भन्छन्,‘अब निजी क्षेत्रको विश्वास जितेर जान सक्दा छिटो नै अर्थतन्त्रको पुनरुत्थान हुन सक्छ ।’
सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसंग जोडर बनाउनुपर्ने बताए । युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको छ ।‘विभिन्न फोरम र सरकारका प्रतिनिधीले युवाका कुरा नसक्दा विद्रोह हुन्छ,’उनी भन्छन्,‘युवाहरुले भोगेका समस्या समयमा सुन्न सक्दा मानिसमा निराशता पैदा हुँदैन ।’
आशा केन्द्रसँग, समाधान स्थानीय तहबाट नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । जेनजी आन्दोलनपछि केन्द्रिय सरकासंग बढी अपेक्षा गरिएको भएपनि प्रदेश र स्थानीय तहमार्फत धेरै विषय समस्या समाधान गर्न सकिने ज्ञवलीले बताए।
‘केन्द्र सरकारसंग मात्रै मुख ताक्दा युवाले खोजेका सबै सेवा सहज पाउँदैनन् । स्थानीय तहबाट कार्यान्वयन हुने विषय त्यहींबाटै हुनुपर्छ,’उनले भने । सरकारी नीति नियमको कारण परिणाममा भन्दा प्रक्रियामा भूल्ने गरेकोमा परिर्वतन हुनुपर्ने बताए ।
उनले बैदेशिक लगानी भित्राउनको लागि सार्वजनिक निजी साझेदारीको मोडलमा नै अघि बढ्नुपर्ने बताए । ‘लगानी बोर्डका लामो समयदेखि वन स्टप सर्भिस सेन्टरको प्रणाली छ । तर त्यसको कार्यन्वयन राम्रोसंग हुन सकेको थिएन,’उनले भने,‘अध्यादेशबाट कानुन संशोधन भएर कर्मचारीलाई अधिकारसहितको जिम्मेवारी दिएका छौं । अब कार्यविधी बनाएर त्यसलाई छिटो कार्यन्वयन गछौं ।’
सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुँदा वैदेशिक लगानीकर्तामा विश्वास पैदा हुन सकेको छैन । लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दल सहितका प्रतिनिधी हुनेगरी अघि बढेको छ । अब त्यसमा थप छलफल गरेर टुंगाउनु पर्ने उनले बताए ।











