फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म राजनीतिक विषयमा बनेको प्रष्ट हुन्छ । फिल्ममा हरिबंश आचार्य आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिकामा छन् ।

ट्रेलरको पहिलो दृश्यमै हरिबहादुर जेलबाट निस्किएको देखिन्छ भने अन्त्यमा फेरि ऊ जेलमै पुगेको छ । बीचमा उसले समाजमा पुनःस्थापित हुन गरेको संघर्ष र राजनीतिक घटनाक्रमलाई हास्य शैलीमा देखाइएको छ ।

दीपेन्द्र के। खनालको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, कमलमणि नेपाल लगायतको पनि अभिनय रहेको छ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।