नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बुधबार नै मलेसिया पुगिसकेको छ । त्यहाँको मैत्रीपूर्ण अभ्यासपछि नेपाली टोली उतैबाट बहराइन प्रस्थान गर्ने छ ।

नेपालको अन्तर्राष्ट्रिय स्तरको मैदान दशरथ रंगशाला प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ ।

नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ । 

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो ।नेपाल पहिलो खेलमा युएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।