सूर्यबहादुर थापाका छोरा सुनिल राष्ट्रपतिका राजनीतिक सल्लाहकार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनीलबहादुर थापा नियुक्त भएका छन् ।राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।

यस्तै राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार थापाको नियुक्ति बुधबार भएको हो।राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।

राजनीतिक सल्लाहकारमा नियुक्त सुनीलबहादुर थापा कांग्रेस प्रवेश गरेसँगै सहमहामन्त्री बने,र१४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। गत निर्वाचनमा उनलाई कांग्रेसले धनकुटाबाट प्रतिनिधसभाका उम्मेदवार बनाएको थियो। तर उनी एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए।

यसअघि राष्ट्रपतिको स्वकीय सचिवालय प्रमुख डा.सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए । यस्तै राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।