ललितपुर–३मा स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की चर्चामा

ललितपुर–३मा विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी उपमहासचिव भुसाल र नेकपा (एमाले) का उम्मेदवार अमृत खड्का छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की पनि चर्चामा छिन् । भुसाल, खड्का र डा कार्कीबाहेक ललितपुर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जन थापाले उम्मेदवारी दिएका छन् ।

गोदावरी नगरपालिका–१२ र १४ ललितपुर महानगरपालिका–१, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ गरी २२ वटा वडाहरू रहेको यो क्षेत्रमा ९४ हजार एक सय १६ मतदाता छन् । जसअनुसार ४५ हजार तीन सय ६ पुरुष र ४८ हजार आठ सय १० महिला मतादाता रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।

दुईचोटी सांसद भएकी नेता भुसालले गत निर्वाचनमा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई एक हजार सात सय आठ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन् । भुसाल यस पटक अमात्यकै सहयोग लिएर सांसद बन्ने अभियानमा छिन् । गत निर्वाचनमा भुसालले २४ हजार ३६ मत ल्याएकी थिइन् भने अमात्यले २२ हजार तीन सय २८ मत ल्याए ।

एमाले उम्मेदवार खड्का र डा कार्की सांसदमा पहिलोपटक प्रतिस्पर्धामा छन् । खड्का विसं २०५४ मा तत्कालीन सैबुँ गाविसको अध्यक्ष भएका थिए । डा कार्की उम्मेदवार हुनुअघिसम्म पाटन अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत थिइन् ।

३२ वर्षीया डा कार्की सानैदेखि नेतृत्वदायी भूमिकामा आउन रुचाउने स्वभावको छिन् । “मतदाताका अपेक्षा सामान्य छन्, यहाँ खानेपानी, बाटो, स्वास्थ्य र शिक्षाको समस्या रहेछ, काठमाडौँ उपत्यका नजिकै भए पनि यहाँ आधारभूत सुविधा पनि छैनन”, उनी भन्छिन्, “मतदाताहरूले परिवर्तन चाहनु भएको छ, आफ्नो मतप्रति इमान्दार भइदिए हुन्थ्यो भन्ने कामना छ ।”

भुसालले आफू दुई पटक सांसद र मन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मानेकी छन् ।

“म २०३६ सालदेखि यहाँका स्थानीयवासीहरूसँग साक्षात्कार छु । यहाँ मेरो योगदान छ, यहाँको स्थानीय विकास, सम्पदा संरक्षणमा, अन्य विकासमा मैले काम गरेको छु । पर्यटनमा आधारित अर्थतन्त्र, पर्यवरणमैत्री पूर्वाधार र समतामूलक समाज निर्माण गरी ललितपुरवासीले गुणस्तरीय जीवन जिउने आधार तय गर्न मलाई मत दिनुहुनेछ भन्ने विश्वास छ”, भुसाल भन्छिन् ।

यता खड्काले सामाजिक तथा आर्थिक परिवर्तनका लागि काम गर्न जनताले मत दिएर विजयी गराउने दाबी गरे । “रोजगारी सृजना, बेरोजगारको अन्त्य, सर्वसुलभ ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा दिने र प्रदूषणमुक्त सहर बनाउने मेरो योजना छ ।”

यस क्षेत्रका कूल २२ मध्ये गत स्थानीय चुनावमा सातवटामा कांग्रेसले, तीनवटा माओवादी केन्द्रले, दुईवटामा नेकपा (एकीकृत समाजवादी), दुई वटामा स्वतन्त्र र आठ वटामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गरेका थिए ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा कांग्रेसले १८ हजार पाँच सय ४५, एमालेले १७ हजार सात सय नौ, माओवादीले सात हजार सात सय २७, एकीकृत समाजवादीले पाँच हजार एक सय २९ र राप्रपाले चार हजार तीन सय ३२ मत प्राप्त गरेको छ । यो क्षेत्रमा एमालेले कसैसँग पनि तालमेल गरेको छैन ।