काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं संघीय सांसद शेखर कोइरालाले नागरिकको विश्वास र संसदको समर्थनवाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्वोधन गरेर समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिएका छन् ।
नेता कोइरालाले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्व सुरु भएको बताएका हुन् । उनले यसको कारण स्वयं राजनीतिक दल र आफूहरु भएको उनले बताए । यसखाले समस्याको समाधानका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनको भनाई छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् ।‘मैले कर तिर्ने बर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनस्थितिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो’, उनले भने, ‘सबैको ब्यापार घटेको छ । ब्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । ब्यापारिक शहर उजाड हुँदैछन् । भर्खरै प्राप्त जनगणना अनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन् । यो भन्दा भयावह परिस्थिति के हुन सक्ला ?’
अबका दिनमा ढिला नगरिकन जनअपेक्षा अनुसारका काम गर्नुपर्ने उनले बताए । नागरिकको समस्या समाधानका लागि संसद्, सरकार, प्रतिपक्ष एक ठाउँमा उभिने बेला आएको उनको भनाई छ । ‘आम नागरिकले यो व्यवस्थाले अवस्थामा कुनै परिवर्तन नआएको गुनासो गरिरहँदा हामी त्यसतर्फ सचेत हुने कि नहुने रु अब हामी ढिला नगरी जनअपेक्षा अनुसार संसद्, सरकार, प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिकको चिन्तालाई सम्बोधन गर्न आगाडि बढ्नुको विकल्प हामीसँग छैन,’– उनले भने ।











