विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको ५८ वर्षको उमेरमा बुधबार निधन भएको छ ।मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
प्रदेश एकका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापा निमोनिया भएपछि एक महिनादेखि उपचाररत थिए ।थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो। नेपाली कांग्रेसका नेतासमेत रहेका थापालाई डेंगुसँगै निमोनिया संक्रमण भएको थियो ।
नोबेल मेडिकल कलेजका निर्देशक राजेश नेपालका अनुसार थापाको बुधबार बिहान १०ः४० बजे निधन भएको हो ।
यसैबीच, निर्वाचन आयोगले यस क्षेत्रमा मंसिर ४ मै निर्वाचन हुने गरी काम गर्ने तयारी गरेको छ । मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापाको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने विषयमा आयोगले स्पष्ट पारेको छ ।आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए ।











