काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले “मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु नहुने बताएका छन् । आइतबार आयोजित छलफलमा शाहले उक्त धारणा राख्दै , विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न पनी आग्रह गरेका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आइतबार आयोजित छलफलमा उनले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिए।
‘गलत गर्नु हुँदैन, गल्ती गर्नेलाई कारबाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्छ। असल नियतले काम गर्दागर्दै भएको भूललाई सहज लिनुपर्छ। मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन,’ प्रमुख शाहले भने, ‘गएको वर्षको तुलनामा यस वर्ष गुनासा कम छन्। सुधारका सङ्केतहरु देखिएका छन्। खर्च कम भयो भनेर नआत्तिनू, भौतिक प्रगति कति भएको छ हेर्नू, काम भइसकेपछि भुक्तानी नरोक्नू, कोही कर्मचारी बिदामा बसेका कारण सेवा प्रभावित हुनु हुँदैन। कोही बिदामा बस्दा सेवा प्रवाह नरोकिने व्यवस्था मिलाउनुपर्छ।’
वर्षौंसम्म काम गरिरहेका कर्मचारीको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘धेरै कार्यक्रममध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका हौँ। यी कार्यक्रमको कार्यान्वयन दायित्व विभागीय प्रमुखहरुको हो। यसलाई प्राथमिकता राख्नुहोला।’
लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिए।
बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी सहभागी थिए। यस क्रममा विभागका प्रमुखहरुले प्रगतिको सङ्क्षिप्त जानकारी गराएका थिए।











