प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ बजे दोस्रो पटक विश्वासको मत लिँदै

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप प्रधानमन्त्रीपुष्पकमल दाहालले प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट दोस्रो पटक विश्वासको मत लिँदै छन्।

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।सत्ता समिकरण बदलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज दोस्रो पटक विश्वासको मत लिँदै छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय तयार भएको गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ।प्रधानमन्त्रीलाई विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्नेछ। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा ४ नागरिक उन्मुक्तिको ४ र जनमोर्चा एक सांसद छन्।