काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले विवादस्पद व्यक्तिलाई किन उपप्रधान एवं गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेको छन् । कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका हुन् ।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सहमहामन्त्री तथा सांसद बद्री पाण्डेले विवादास्पद व्यक्तिलाई गृहमन्त्री नियुक्त गरिएको भन्दै यसप्रति प्रधानमन्त्री प्रचण्डको धारणा माग गरेका हुन् ।उनले सहकारी पीडितहरू आन्दोलनमा उत्रिएको भन्दै आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धानमा प्रभावित हुने जिकिर गरे ।
गृहमन्त्री रवि लामिछाने लगानी गर्न नमिल्ने संस्थामा सहकारीको लगानी गरिएको, नमिल्ने शीर्षकमा कर्जा दिएको र सदस्य नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको सघन आरोपमा घेरिएका भन्दै यस्तो प्रकृतिका अन्य दोषीलाई कसरी कारबाही गर्नुहुन्छ भनि उनले प्रश्न समेत गरे ।
सांसद पाण्डेले पीडितलाई न्याय दिने गुरुत्वर अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा के हो ? भनेर सरकारको धारणा माग गरे ।
यस्तै सांसद सरस्वती बजिमयले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै भ्रष्टाचार निर्मूल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धतामा प्रश्न गरेकी छन् । बजिमयले प्रधानमन्त्रीको प्रतिबद्धता र कामलाई पीडितले कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेकी हुन् ।
उनले भनिन्,‘प्रधानमन्त्री ज्यू, उथलपुथल ल्याउने भन्नुहुन्छ, भ्रष्टाचार निर्मूल पार्ने भन्नुहुन्छ । तर, सहकारी ठगीमा मुछिएको व्यक्तिलाई गृहमन्त्री बनाउनुहुन्छ । पीडित र जनताले के विश्वास गर्ने ठाउँ छ ?’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा सहकारी ठगीमा संलग्न रहेको भन्दै उजुरी परेको छ । बजिमयले त्यसलाई जोडेर संसद्मा प्रश्न उठाएकी हुन् ।











