काठमाडौं । नेकपा एमालेका नेता एबं सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप–प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सत्तापक्षिय सांसदहरुले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकामा उनले प्रतिवाद गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष ओलीको तेजोवध नगर्न सत्तारुढ सांसदहरुलाई चेतावनी दिएका हुन् ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष ओली संसदमा हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए ।सोहि बिषयमा जवाफ फर्काउदै सांसद गोकुलप्रसाद बास्कोटाले भने, ‘तपाईंहरूले दिएको उपाधिले पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो ।
तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो, बधाई छ ।उनले भने, ’इन्फरमेसन, रिफरमेसन र ट्रान्सफरमेसनको, सामाजिक विकासको मान्यतालाई तपाईंहरुले ग्रहण गर्नुस् सुल्टोबाटो यो हुन्छ होला ।’











