काठमाडौं । नेपाली कांग्रेसले खाली रहेको तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि २ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो ।
नेपाल विद्यार्थी संघको ०५४ सालदेखि ०५७ सालसम्म अध्यक्ष भएर काम गरेका भट्टराई अहिले पार्टीका केन्द्रीय सदस्य छन् । भट्टराई अहिलेसम्म सार्वजनिक लाभको पदमा बसेका छैनन् ।श्रेष्ठ नेविसंघ चितवनका पूर्वअध्यक्ष र कांग्रेसका निवर्तमान जिल्ला सभापपति समेत हुन् ।
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र खाली छ । यस्तै, रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन–२ पनि खाली छ ।











